स्वास्थ्यकर्मीमाथि कुटपिट गरे ३ वर्षसम्म कैद

काठमाडौं : स्वास्थ्य संस्थामा तोडफोड, स्वास्थ्यकर्मी वा कर्मचारीलाई कुटपिट गर्ने व्यक्तिले अब तीन वर्षसम्म कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय भोग्नुपर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आइतबार जारी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ मा सजायको व्यवस्था गरिएको हो। यससँगै उपचारका विषयमा स्वास्थ्य संस्थामा आगजनी, तोडफोड, कुटपिट वा तालाबन्दी गर्ने तथा उपचारमा बाधा पार्ने व्यक्तिलाई कसुर गरेको ठहर गरी कानुनी कारबाही गर्न सकिने भएको छ। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपचार ११ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन्। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ लाई संशोधन गर्दै उक्त अध्यादेश जारी गरिएको हो।

0/प्रतिक्रिया