![]() |
| लेखक- सुदन |
बिहानको नौ बजिरहेको छ।
यो समय अस्पतालको राउन्ड चलिरहेछ।
"सर,इमर्जेन्सीमा एउटा बर्नको केस आएको छ" रेजिडेन्ट दाइले यति भनेपछी सर स्वयं आए।
के भएको हो र अब गरिनुपर्ने प्रक्रिया के हो भन्नेबारे सरले चार बर्षे नानीको आमालाइ सबिस्तार बुझाए।
लगभग बीस प्रतिशत जति जलेको अनि मुख नाक लगायतमा क्षति भएकाले काठमाडौंमा रहेको कान्तिबाल अस्पतालनै लैजानु उत्तम हुने सुझाव दिएर परिवारमा थप सल्लाह गरेर खबर गर्नु भनि सर गए।
विद्युतीय जलन भएको यो घाउलाइ ड्रेसिङ गर्न चाहिने सामानहरु लेखेर दस मिनेटपछि आउने भन्दै हामीपनि सरको पछिपछि गयौं ।
"दिदी ,सामान खोइ"? दस मिनेटपछी हाम्रो प्रश्नवाचक जिज्ञासामा उनले भनिन् -एकैछिनमा ल्याइहाल्छु।
किन ढिला गरेको होला भन्ने सोच्दै हामी फेरि अर्को काममा लाग्यौं ।
केही समयपछी म एक्लै फेरि सामान ल्याएको नल्याएको बुझ्न अाएँ।
"सर,एकैछिनमा ल्याइहाल्छु" भन्ने वाक्य दोहोर्याएर उनी चुपचाप बसिरहिन्।
खास कारण के हो दिदी भनेर मैले अलिक बिस्तारमा सोध्न चाहेपछी उनले एकै स्वासमा भनिन् -" म साहुको घरमा सरसफाइको काम गर्छु। आजपनि बिहानै काममा गएको थिएँ । यो छोरीलाइ सधैंझैँ साथीको जिम्मामा लगाएर । काममा पुगेको मात्र के थिएँ ,यस्तो भएको सुन्न पर्यो । अनि, हतार हतारमा यता ल्याइहालेको। खल्तीमा पचास रुपैयाँबाहेक अरु केही छैन सर। म त एक्लो महिला हो। बुढोले पहिल्यै छोडिदिएको । काम गर्ने घरको साहुसंग समस्या बताएर पैसा मागेको भोलि तिरमात्र दिन्छु भनेको छ। गाउँमा भाइलाइ भनेको छु, खोजखाज गरेर ल्याउँछु भनेको छ "।
म एकैछिन अकमक्क भएँ। यस्ता समस्या पहिला कहिल्यै नदेखेको-नभोगेको भएर होइन!
अस्पतालमा यस्ता समस्या आइपरे कसरी सामना गर्ने भन्नेबारे उति सारो ज्ञान नभएकाले ।
"यस्तै हो दिदी ,चिन्ता नगर्नु, म एकैछिनमा आउँछु नि फेरि" । यति भनेर म थप सल्लाह गर्न रेजिडेन्ट दाइकोमा गएँ ।
दाइले एउटा गज्जबको आइडिया दिए।
"माथी क्याबिनमा हप्ता दिनदेखी नियमित ड्रेसिङ गर्दै आइरहेको बिरामीको सामान ल्याएर चलाइदेउ न । यो नानीलाई यहाँबाट ड्रेसिङ गरेर काठमाडौं पठाइदिने हो भनेपछि छिटो गरेको राम्रो नि"।
कस्तो सुन्दर आइडिया।
कस्तो संयाेग।
संगै कामगर्ने साथी र म माथी क्याबिनमा गयौं । चाहिने सामान गफ गर्दागर्दै उठायाैँ अनि चुपचाप फर्कियाैँ।
त्यो नानीको आउँदा उनी भात खाइरहेकी थिइन् ।
"भात आइसक्नु भो"? भात खाएको देखेर मैले सोधेको प्रश्नमा आमाले संगै जोडिएको बेडको बिरामीलाई देखाउँदै भनिन् -"भोक लाग्यो भनेर छोरी रोएपछी उहाँले आफ्नो भागबाट अलिकती दिनुभएको "।
म नाजवाफ।
नानीलाई दौडाएर इमर्जेन्सी ल्याएको अनि हामीले ड्रेसिङ सुरु गरेको समय चालीस मिनेट फरक परेछ।
चालीस मिनेट।
....
तपाइँहरु यो पढिरहँदा मनभित्र कति प्रश्न आइरहेका छन् होला हगि?
अस्पतालको इमर्जेन्सीमा समेत औसधि नकिनी उपचार प्रक्रिया सुरु हुँदैन? भन्नेदेखी माथी क्याबिनबाट उठाएर ल्याएको सामानबारे सम्बन्धित बिरामीलाई भनियो कि नाइँ ?
संगै,
एउटा बिरामीले अस्पताल आएको केही घन्टामै यो हदको दुख भोग्नुपर्ने यथार्थबारे सुन्दा कति नमज्जा लागिरहेको होला है तपाइँलाई?
पहिला माथीका प्रश्नको जवाफ दिन्छु है- सामान्यतया निजी अस्पतालमा इमर्जेन्सीमा आएका बिरामीको आफन्तलाई चाहिने औसधि किन्न पठाइहालिन्छ र संगै उपचार प्रक्रियापनि सुरु गरिहालिन्छ।
सामान लेख्नेबित्तिकै आइहाल्छ भन्ने सोच हुनेभएकाले हामीमा यस्ता नानीजस्ता बिरामीपनि अस्पतालमा हुनसक्छन् भन्नेबारे हेक्का भएपनी यथार्थ स्वीकार्न समय लाग्छ।
हाम्रालागि यिनिहरु अपबाद हुन् !
उदाहरण होइनन् !
त्यसैले ,
अपबादलाई उदाहरण सम्झेर टाउको कन्याउनुपर्ने झन्झट हामी अधिकांश लिँदैनौ।
अब अर्को प्रश्नमा,
मैले सामान उठाएर ल्याएको बिरामी अनि बिरामीको आफन्तलाई उनीहरु अस्पतालबाट डिस्चार्ज हुनुपहिले भनेँ ।
"ओहो,हाम्रोमा यसरी थुपारिएको सामानले कसैलाइ तेत्रो फाइदा भएछ भन्ने सुन्दा म आनन्द आयो। अब, फुर्सद मिलाएर हाम्रोतिर आउनु है । भैंसीको घ्यु राखिराख्नेछु"।(भैंसीको गोठमा आगो सल्किएर पोलेको भन्ने थाहापाएपछी हामीले घ्यूको कुरा गरिरहन्थौ)।
...
बिरामी नानीलाई लिएर आमा काठमाडौं लागिन्।
सामाजिक संजाल ट्विटरमा लेखेपछी केहिले सित्तैमा उपचार हुने सरकारी अस्पतालहरुको नाम बताए ।
दुखको कुरा,
मैले सम्पर्क गर्ने कुनै सुत्र पाइन।
यो यथार्थ मेरा लागि "एकादेशको कथा" भयो।
..
अस्पतालमा यस्ता "अपबाद" हरु कति आउँछन् गन्ने फुर्सद कसैलाइ हुँदैन । गनेर साध्य पनि नहोला सायद।
अझ, आफूले केही सहयोग गर्न नसक्ने यथार्थ थाहा हुँदाहुँदै दुखका पोका फुकाल्न लगाएर के अर्थ।
अस्पतालमा बिरामीलाई दिइने छुट ,निशुल्क भनी छुट्टाइएका बेडमा डाक्टरबाहेक अन्य अस्पतालका कर्मचारीको सिफारिसले काम गर्छ!
दोहोर्याएर लेख्छु,
अधिकांश अस्पतालले छुट्टाएको छुट अनि निशुल्क उपचार गरिने बेडहरुमा बिरामीको प्रत्यक्ष उपचारमा संलग्न डाक्टरहरुको बाहेक अरुको सिफारिसले काम गर्छ।
तर,
बिरामीलाई लाग्छ- मैले घरखेत बन्दकी राखेर ,साहुसंग मिटर ब्याजमा ल्याएको पैसा सबैसबै डाक्टरको खल्तीमा जान्छ।
कस्तो बिरोधाभाष है!
दोष कसको?
म आजसम्मपनी ठाक्कै भन्न सक्दिन।
तर भन्नसक्छु- अस्पताल संचालकहरुले पर्दापछाडी बसेर छरेको यो भ्रमले काम गर्दा मुसुमुसी हाँसिरहेका छन् ।
....
समय १० बजे
रिफर गरेर एउटा केस आएको छ।
साथमा श्रीमति छिन् ।
उपचारको प्रक्रिया सुरु गर्न बिरामी मान्दैमान्दैनन् ।
श्रीमती एकोहोरो सम्झाइरहेकी छिन् ।
उपचार गर्नैपर्ने अनि नगरे जे पनि हुनसक्ने भनेर रोगको गम्भीरता बारे डाक्टरहरुले बुझाइरहेका छन् !
"छोराको बिहे छ पन्ध्र दिनपछी।अहिले मेरो उपचार गर्यो भने जम्मा गरेको सबै पैसा सकिन्छ अनि छोराको बिहे कसरी गर्नु । उसले मलाइ पछि के भन्छ। म उपचार गर्दैगर्दिन"।
पिसाब नलीबाट क्याथेटर छिराउन खोज्दा उनले आफ्नो गुनासो सुनाए।
उसले बुझिने गरि यत्ती मात्र भन्यो!
सायद,
यहि एक वाक्यले हाम्रो सारा स्वास्थ्यको तस्बिर भनिदियो होला सायद!
पैसाको अभावमा मृत्यु स्वीकार्न तयार !
धन्न,पछि छोराले फोनबाट सम्झाएपछी उनी उपचार गर्न तयार भए।
अवस्था सबैको यस्तै होला?
...
मानिसहरु रोगलाइ जित्ने सबैभन्दा ठुलो औसधि भनेकै इच्छाशक्ति हो भन्छन् ।
मलाइ यो कुरामा त्यति बिश्वास छैन।
देशका कार्यकारीले अहिलेसम्म मृत्युको मुखमा पुगेर पनि फर्किएको उदाहरण दिँदै धेरैले उनको इच्छाशक्तिको कारण सम्भव भएको सम्म भन्छन् ।
चौबीसै घन्टा विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा बसेर देश-बिदेशका उत्कृष्ट अस्पतालमा राज्यकोषबाट असीमित पैसा उपचारमा खर्छ गरेका ब्याक्तिको इच्छाशक्ति अनि केही सामान्य बिमार हुनेबित्तिकै घर खेत नै बेच्नपर्ने यथार्थ रहेका अधिकांश बिरामीको इच्छाशक्तिको तुलना हुनसक्ला?
तुलना गर्नु न्यायोचित होला?
चिन्ता गर्न पर्ने अरु केही भएन भने इच्छाशक्ति स्वत आउला पनि ।
..
अस्पतालमा एकैदिनमा कति कथा आउँछन् !
कतिले दुखका पोका फुकाएर जान्छन् ।
कतिले आफैंसंग फिर्ता!
यो सब देख्दा मलाइ स्कुले जीवनमा खेलेको बादबिबादको झल्को आउँछ- शिक्षा ठूलो कि स्वास्थ्य?
जन्म लिइसकेपछी पनि पैसाकै अभावमा मृत्यु स्वीकार्नु दुखत कि अशिक्षित रहनु?
एकबारको जिन्दगीमा यो दुबैको महत्त्व छ-थाहा छ!
तर,
शिक्षा र स्वास्थ्यमा कुन बढी महत्त्वपूर्ण छ?
शिक्षामा जत्तिको पहुँच नागरिकको स्वास्थ्यमा छ?
..
प्रश्न निरुत्तरित छन् ।



Post a Comment