प्रिय दीप -तिमीबाट सिक्नुपर्ने धेरै रहेछ


प्रिय दीप साथी,

मैले यो लेख्न पर्ने थियो-थिएन थाहा छैन।

तर,

फुर्सदको समयमा कोठामा एक्लै बसिरहेको बेला तिमीमाथी परेको बज्रपात देख्दा यी दुई दिन मेरो मनमा यसरी कुराहरु खेल्न थाले-मैले नलेखी बस्नै सकिन।


महिना दिन नबित्दै एउटा कठोर पारिवारिक पीडा लगत्तै प्राकृतिक बिपत्तिसामु तिमीले देखाएका प्रतिक्रिया संजालमा देखेपछी नलेखी बस्नै सकिन।


भेटघाट त अहिलेसम्म भएको छैन हाम्रो।

तिमी मलाइ दाइ भन्छौ।

म साथी भन्छु।

सम्बोधन अनि सम्बन्ध ।

...

दस महिना पहिले मेरो ट्विटर टाइमलाइनमा आएको एउटा ट्विट हेरेपछी तिमीलाइ फलो गर्दै एउटा सन्देश पठाएको थिएँ ।

जनयुद्धकालिन समयमा तिमीले भोग्नुपरेको त्यो कहालीलाग्दो यथार्थसंग मैले मेरा जनयुद्धले पुर्याएको पारिवारिक क्षतिको बारेमा लेखेको थिएँ ।

त्यसपछी कुराकानी आदानप्रदान चलिरह्यो।

तिम्रा ट्विट फलो गर्नुमा एउटा बेग्लै आनन्द थियो।

तिमीले मेलम्ची घुमाउने अनि मैले गोरखा घुमाउने सल्लाह धेरैपटक गर्नकै लागि भएपनी गरियो संजालमा।

...

"अब त दाजुभाइको कथा पनि उस्तै उस्तै भो दाइ"।

तिमीले आफ्नो बुबालाइ गुमाएको केही दिनपछी मैले लेखेको सान्त्वनाका शब्दको जवाफ फर्काउने क्रममा यसो भन्यौ।

जनयुद्धका दौरान हामी दुबै भुइँका दाजुभाइले भोगेको यथार्थले तिमीसङ छुट्टै भावनात्मक सम्बन्ध त थियो नै।

तिमीले त्यत्रो पारिवारिक बियोगका बीचमा पनि जसरी मसंग कुरा गर्यौ- म तिमीबाट थप प्रभावित भएँ।

 तिमीसङको कुराकानीमा मेरो मनमा एउटा प्रश्न आइरह्यो- दुई दशक बित्न लागिसकेको मेरो पारिवारिक पीडा सम्झिएर आजसम्म पनि मलाइ आफैंलाई जलाइरहन्छु कयौंपटक ।

ठिक बिपरित , यो मान्छे कसरी  जीवनको यथार्थलाई यसरी स्विकार्न सकेको होला?

यो मान्छेले जिन्दगीलाई कति गहिरिएर बुझेको होला!

...

"यस्तो जिन्दगी बाँच्नु को के अर्थ" भन्ने ट्विट चार दिन अघि देखेपछी मैले सन्देश पठाइहालेँ ।

तर,

त्यो सन्देश मैले केही समयमै मेटिहालेँ जब भएको के रहेछ भन्नेकुरा संजालमार्फत थाहा पाँए।

 दीप साथी,अहिले यो लेखिरहँदा मन भारी भइरहेको छ । अाँसु झरेको छैन!

तर,

तिम्रो यो ट्विटपछिका ट्विट पढेर म कतिपटक राेएँ भन्न सक्दिन।

तिम्रो ट्विटको अर्को दिन आमाले म संग फोनमा भन्नुभयो-"बाबू कान्छा-हेर न दुई रात भैसक्यो,बुबा सपनामा आएर मैसंग जाम जाम भन्नुहुन्छ । रातभरी यस्तै भयो आज "।

आमाले किन यसो भन्नुहुन्छ भन्नेबारे मैले धेरै लेखिसकेको छु पनि।


आमालाइ मैले तिमीले यो एक महिनाको बीचमा भोग्नुपरेको बियोग अनि तिमीले आफैंलाई सम्हालेर आफ्नो आमालाइ सम्हालिरहेको कुराकानीको फेरिहस्त सुनाएपछी आमाले लामो सास तानेर भन्नुभयो-" दुख नहुने त को पो छन् र । दुखलाइ कसले कसरी लिन्छ भन्ने कुरा चाहिँ महत्त्वपूर्ण रहेछ कान्छा। तेरो साथीलाई मेरो आशीर्वाद सुनाइदिनु"।

मेरो आमाले यति भनिरहँदा मेरो दिमागमा चाहिँ तिमीले आफ्नो आमासंग मिलेर ट्विटरमा हालेको सानो भिडियोको याद आइरह्यो।

अनि,

लाग्यो-साथीले पीडालाई शक्तिमा बदल्न यसरी कसरी सकेको होला ?

कस्तो गज्जबको स्वीकार भाव साथीको ।

आफ्नो बशमा हुँदै नभएको कुरामा चिन्ता गरेर, आफैंलाई जलाएर फाइदा के!

...

दीप साथी,

तिम्रो र मेरो एउटा कुराचाहिँ ठिक उल्टो रहेछ।

सानै उमेरमा पारिवारिक बियोग परेपछी छरछिमेक आफन्तको हामीप्रतिको ब्यवहार देखेपछी मलाइ रगतको नाताप्रतिको माेहभंग धेरैपहिले भएको हो।

आफ्ना मान्छेहरूनै सबैभन्दा बढी पीडा थपिदिने हुनेरहेछन् भन्ने मेरो भोगाइले देखाउँछ।

यसैले,

मैले आफ्ना कुरा कहिल्यै कसैलाइ सेयर गरिन। आफैंसंग लुकाएर मात्र राखिरहेँ।

चार कक्षादेखि एसएलसीसम्म एउटा `एनजीओ´ मा बसेर पढ्दा मैले कसैलाइ मेरो बिगत बताइन।

बताउन मनै लागेन।

समयक्रममा जब,

एमबीबीएस पढ्न थालेँ, मलाइ आफ्नो अतीतले धेरैनै लखेटिरहेको जस्तो लाग्यो।

अनि,

मन शान्त पार्न लेख्न थालेँ।

आफ्नो अतीतबारे बोल्न-लेख्न थालेँ।

आजभोलि म संजालमा आफ्ना सुखदुःख सबै कुरा लेख्छु!

डायरीमा लेख्नुपर्ने कुराहरु यतै पोखिदिन्छु।

तरपनी,

कति कुरा लुकाइरहेको हुन्छु।


तिमी ठिक उल्टो रहेछौ।

आफ्नो सुखदुःख ,इलम ,पढाइ सबैसबैबारे कति प्रस्ट भएर लेख्ने-बोल्ने।

आजभोली मलाइ लाग्छ,

म पनि समय छँदै यसरी तिमीजस्तै खुलेर आफ्नो यथार्थ बोल्न लेख्न सकेको भए-मन यति धेरै कुन्ठित सायद हुँदैन थियो कि!

मलाइ लाग्थ्यो -दुख पीडा अभाव चाहिँ मलाइ मात्र परेको होला !

ओहो! कति गलत रहेछु है म।

बिपास्यना गएपछी -तिमीलाइ संजालमा फलो गरेपछी मैले यो कुरामा गज्जबै सुधार गरेको आफैंलाई महसुस हुन्छ!

प्रिय साथी-धन्यवाद ।

...

एउटा गीत रहेछ!

धेरैपछी मात्र सुनेँ।

"नभिज्ने अाँखा कसको छ र!

झर्नु नझर्नु त्यो अर्कै कुरा"।

यो गीतले कति गहिरो सन्देश बोकेको रहेछ।

जतिपटक सुन्छु-आनन्द आउँछ ।

जिन्दगीप्रतिको आदारभाव बढ्छ।

केही गर्ने अठोट पनि।

..

प्रिय दीप ,

केही समयलगत्तै पढ्न बिदेश जानैपर्ने बाध्यता ,बितेको एक महिनाभित्र घरका आइपरेको सोच्दै नसोचिएको यथार्थ बीच तिम्रा आगामी पाइला केही कठिन पक्कै हुनेछन् ।

तर,

तिमीले यी सबैसबैलाइ मिलाएर लान सक्नेछौ भन्नेकुरा तिम्रो आजसम्मको कर्मले देखाउँछ!

हेर्न भ्याएको छौ?

 संजालमा तिमीलाई आएका सद्भाव-प्राथना-कामना?

कति धेरै सम्मान प्रकट भइरहेछ तिमीलाइ भनेर तिमीले फुर्सदमा कुनैदिन पक्कै हेर्नेछौ।

यो उमेरमा तिमीले आफ्नै कर्मद्वारा आर्जन गरेको यो सद्भावको बयान कसले गर्न पो सक्ला र!

..

घर-खेत-ब्यवसाय सबै सकिएपछी पनि तिमीले आफुलाइ भन्दा अरुको अवस्था चिन्ताजनक भएकाले त्यता ध्यान दिन आग्रह गरेको ट्विट हेरेपछी मलाइ लाग्यो-यसरी सोच्न मैले कैहिले सक्छु होला?

किनकी,

भुकम्पको बेला मैले तिम्रो ठिक बिपरित सोचेको थिएँ ।

आजको दिनमा पनि तिमी जसरी सोच्नेसक्छु जस्तो मलाइ लाग्दैन।

तर,

जिन्दगीको कुनै बिन्दुमा तिमीले आज सोचेको जस्तै सोच्नेछु भनेर चाहिँ कल्पना गरिरहन्छु!

एउटा पाठ सिकाइदिएकोमा धन्यवाद साथी ।

..

साथी,

गन्थन मन्थन यस्तै हो

तिमीसंग कुनै दिन धित मर्नेगरी गफ गर्न मन छ। 

तिमीसंग जीवन जगतका धेरै कुरा सिक्न मन छ।

कुनैदिन!

..

प्रिय दीप,

तिमीले पनि सम्मान गर्ने विजयकुमारले आफ्नो लेख खुसीमा लेखेका छन् -"कोहि साधरण मानिस बाँकी संसारका लागि कोहि नहुन सक्छ। तर, त्यही साधरण मानिस कसैकसैका लागि सारा संसार हुनसक्छ"!

तिमीले भोगेका पारिवारिक बियोगदेखी बिपत्ती तिम्रालागी सारा संसार हो।

हाम्रा लागि दुई दिनको सान्त्वना हो।

मानेपनी,

नमानेपनी,

जिन्दगीको यहि कठोर यथार्थ हो।

आफ्नो जिन्दगीको यात्राको एक्लो सारथी आफू स्वयं रहेछ।

मेरो भोगाइले यहि भन्छ।

तर,

दुखमा तिमीलाई अहिले सबैले देखाएको जस्तो सद्भाव माया अनि सम्मान भयो भने जिन्दगीको आगामी यात्रा एक्लै तय गरेपनि यादहरुले ढाडस पक्का दिनेछन् ।

सबै यस्तो ढाडस पाउने सौभाग्य हुन्नन्।

लगभग एउटै बिगत ,उस्तै उस्तै जिन्दगीका भोगाइ, एउटै पेशाका हामी जिन्दगीको कुनै मोडमा पक्कै संगै हुनेछौं ।

अहिलेलाइ आमालाइ धेरै सम्मान।

तिमीलाई आगामी दिनको सुभकामना।

सुरक्षित रहनु।




 

 

0/प्रतिक्रिया