प्रतिष्ठान बचाउन आह्वान गर्ने एक बिद्रोही कबिता

लेखक- किरणचन्द्र पुन

 ए भ्रष्ट दलालहरु हो

कान खोलेर सुन,

मुर्ख पाखन्डीहरु हो,

अाँखा खोलेर हेर,

ए नर्तकी चाटुकारहरु हो,

मगजको बिर्को उघारेर हेर,

एक पटक होइन 

पटक पटक तिमीले लगाएको

दोषि चस्मा फुकालेर हेर,

के तिमीलाई दलदलमा

फसिरहेको प्रतिष्ठान देख्दैन हो?

के तिमीलाई देश बदल्ने प्रतिष्ठानको कुनै माया छैन हो?

के तिमीलाई ति एक सर्को लगाउन नपाएका,

एक छाक टार्न धौ धौ परेका

जो बाँच्ने आशमा  प्रतिष्ठानको भुइँमा 

धरती ओछ्याएर

आकाश ओढेर सुतिरहेका हुन्छन,

के तिमीलाई तिनीहरु ब्यथाले पोल्दैन हो?



के तिनीहरु तिमीहरु जस्तो चिल्लो गाडि 

चढन पाएनन

बाक्लो ओछ्यानमा सुत्न पाएनन भन्दैमा के मर्नु पर्ने हो?

के तिनिहरु 

तिमीहरु जस्तो दुई चार अक्षर पढन जानेननन् भन्दैमा

धरतीभित्र गढनु पर्ने हो?

मान्छे पढेर  बुझेर, एउटा पाखन्डी बन्छ भने

मलाई त्यो पढाइ पढनु छैन

बरु मलाई त्यहि भुइँमान्छे नै बन्नु छ 

जसले कर्म गरेर यो देश सजाउँछ

न कि  तिमीहरुजस्तो भ्रष्ट भएर दुनियाँ हसाँउछ!


जलाईदेउ

तिम्रा ति कागजी डिग्रीहरु,

जब ति डिग्रीहरु नै

देश बदल्ने अभिलाषा बोकेका 

म जस्ता युवाको भविष्यमाथि खेलवाड गर्छन् भने

देश बदल्ने संम्भावना बोकेको

प्रतिष्ठानमाथि हमलै हमला गर्छन् भने,

एउटा भुइँमान्छेको पिडा र रोदन नबुझि

माफिया र भ्रष्टहरुको पक्षपोषण गर्छन् भने

के काम ति कागजी खोस्टाहरुको

जसले,

सत्य र न्याय,

धर्म र सेवा,

दुखी र गरिब,

देश र जनता बुझ्न सक्दैन भने!


आमा,

मलाई ठुलो मान्छे  बन्नु छैन 

मलाई केवल असल मान्छे बन्नु छ,

कतै मैले ठुलो मान्छे बन्ने होडमा

आफ्नो धरातल बिर्सिएर

असल मान्छे बन्न बिर्से भने

तिमीले मलाई बच्चामा लगाउने थप्पड 

पटक पटक मेरो गालामा बजार्नु है,

यहाँ त आमा बेच्नेहरुको बिगबिगी बढेको रहेछ

कतै तिम्रो छोरापनि आमा बेच्ने बाटोमा हिँड्दै त छैन?

0/प्रतिक्रिया