‘बिन्ती,मलाई जान दिनु न। नत्र,म भागेर जान्छु’
खासमा म मनको शान्ति खोज्न विपश्यना गएको थिएँ। तर घन्टाघन्टामा सामाजिक सञ्जाल चलाउनुपर्ने, साथीभाइका कुरामा अनेकौँ तर्क/कुतर्क गर्नुपर्ने बानी परेको मलाई सुरु कै दिनमा औडाहा भयो। यो वातावरणमा १० दिन त के, १० घन्टापनि बस्न सक्दिन भन्ने लाग्यो।
पलपल यसरी तड्पिएर मनको शान्ति खोज्नुभन्दा मलाई मेरै पहिलाको दैनिकी ठीक छ। पहिलो दिनमै मैले सहायक आचार्यलाई म सक्दिनँ भनिसकेको थिएँ। तर मलाई जान नदिएका कारण तेस्रो दिनमा फेरि यसरी नत्र म भागेर जान्छु भन्न गएको थिएँ।
विपश्यनाबारे बुझेपछि मलाई त्यहाँ जसरी पनि जाने हुटहुटी बढेको थियो। लुम्बिनीमा आफ्नो पहिलो विपश्यना शिविर सकाएर आएका एक साथीले फोनमा उत्साहित हुँदै सुनाएका अनुभवले अझ उत्सुकता बढाएको थियो। सन्दर्भ विशेषमा कुरा चलेपछि जाग्ने हुटहुटी अनि नियमित दैनिकमा फर्किएपछि सेलाउने इच्छाशक्तिको चक्र चलिरहेको थियो।
दुई महिनासम्म चल्ने एमबिबिएस अन्तिम परीक्षा अनि यसको तयारीका लागि पाइने चार महिना बढीको समयमा भने मेरो मनमा विपश्यना जाने रुचि अझ बढेर आयो। आधा वर्षसम्म एउटै कोठाभित्र गुम्सिएर एउटै दैनिकीमा बस्नुपर्ने बाध्यताले मलाई विपश्यनाप्रति अझ रुचि बढायो। परीक्षा सकिने बित्तिकै विपश्यना जाने कुरामा आफैँसँग सहमत भए।
के हो विपश्यना ?
आजभन्दा पच्चीस सय वर्ष अगाडि गौतम बुद्धले अनुसन्धान गरी सर्वसुलभ गराउनुभएको यो साधनाले स्वनिरीक्षण चित्तशुद्धी गराउने सहयोग पुर्याउँछ। आफ्नो स्वाभाविक श्वासको निरीक्षणबाट आरम्भ गरेर आफ्नो शरीर र चित्त वृत्तिमा प्रति क्षण हुने परिवर्तनशील घटनाहरूलाई तटस्थ भावमा निरीक्षण गर्दै चित्तशोधन र सद्गुण वृद्धिको निरन्तर अभ्यास गर्नु नै यसको मर्म हो।
विपश्यना अवधिभर पञ्चशील मान्नै पर्छ। यस अन्तर्गत जीव हत्या,चोरी नगर्नु, झुटो नबोल्नु, अम्मलको सेवन नगर्नु अनि ब्रम्हचर्य पालना गर्नु अनिवार्य सर्त हो। अवधिभर आर्य मौन बस्नुपर्नेछ जहाँ वाणी तथा शरीरबाट पनि मौन पालना गर्नुपर्दछ र शारीरिक सङ्केत अथवा लेखपढ गरेर विचार विनिमय गर्न निषेध गरिन्छ। तसर्थ, १० दिनसम्म बाहिरी दुनियाँसँग विच्छेद भएर आफैँसँग रम्नु नै विपश्यनाको मूल उद्देश्य हो।
विपश्यनाबारे सुन्दा जति रोमाञ्चक लाग्थ्यो, जति हुटहुटी जाग्थ्यो, त्यहाँको वातावरणमा अभ्यास गर्न थालेपछि चाहिँ गाह्रो भयो। दिनमा दुई पटक घरमा आमालाई फोन गर्नै पर्ने बानी परेको मलाई अबको १० दिनसम्म आमाले मेरो र मैले आमाको बोली सुन्न नपाइने गरी मोबाइल लकरमा राख्दा मन बेचैन भयो।
यी अनि यस्तै विरोधाभाष बीच मैले आफ्नो अभ्यास सुरु गरेँ। बिहानै चार बजे उठ्नै पर्ने अनि साढे चारसम्ममा धम्म हलमा पुगेर दिनको सुरुवात गर्नुपर्ने नियमित तालिकामा म सामेल भएँ। एक ठाउँमा अडिएर बस्ने नसक्ने मेरो स्वभावको ठीक विपरीत एउटै आसनमा कम्तिमा एक घण्टा बस्नुपर्ने विपश्यनाको नियमले सुरुवाती दिनमा पीडा दियो।
ध्यानमा बस्ने नियमित बानी नभएको अनि पूरै भिन्न वातावरणमा बसिरहेकाले मलाई गुरुले दिएका निर्देशनले कुनै प्रभाव पारेन। बरु,आँखा चिम्लने बित्तिकै पत्रैपत्रमा आइदिने विगत र वर्तमानले मन बेचैन भइरह्यो। बिरामी भइरहने घरमा एक्लै हुनुभएको आमा, विदेशमा रहेको दाइ अनि दिदीको याद आइरह्यो। अझ, जनयुद्धका दौरान १७ वर्षअघि बेपत्ता पारिनुभएको र अझसम्म सास वा लासको कुनै अत्तोपत्तो नभएको बुबालाई सम्झेर मनमा अनेकौँ तर्क चलिरह्यो। एउटा कुनाबाट आइरहेका निर्देशन सुनेर त्यही अनुसार गर्नुपर्नेमा मेरो मन अनियन्त्रित भइरहेको थियो।
अन्य समयमा आफ्नो पढाइले सोच्न नपाएका नभ्याएका सम्झना,व्यवहार, तर्कहरूले एकोहोरो आफ्नो ठाउँ जमाएपछि अनायासै आँसु बग्न थाले। पहिलो दिनमै यस्तो भएको मलाई बाँकी नौ दिन सम्झेर डर लाग्यो। त्यसैले दोस्रो दिनको बिहानै एक धर्मसेवकलाई मैले मौन तोडेर भनेँ, म घर जान चाहन्छु। मेरो मोबाइल लगायतका सामान फिर्ता दिनुस्।
उनले आनन्दपूर्वक मेरो कुरा सुनेपछि आचार्यसँग भेट गराइदिने र त्यसपछि मात्र निर्णय गर्नलाई भन्नुभयो।
बिहानको खाना खाएपछि एक बजे धम्महलमा आचार्यसामु गएर आफ्नो पारिवारिक अवस्था बताएर मनमा आइरहेका बेचैनीले गर्दा अब बस्न नसक्ने जानकारी गराएँ। म एमबिबिएसको अन्तिम परीक्षा सकिने बित्तिकै विपश्यना गर्न आएको सुनेर उनले आफ्नै उदाहरणका दिँदै मलाई भने, ‘सबैलाई यस्तै हुन्छ। मनमा अनेकौँ तर्कना आउने त झनै राम्रो हो। यो तिम्रो मनभित्रका विकारहरू हुन्। यसैलाई त हो सफा गर्ने। अझ,तिमीजस्तो पेसामा भएकालाई विपश्यनाको महत्त्व अझ बढी छ। आफ्नो अन्तिम परीक्षापछि मनोरञ्जनका कार्यक्रम त्यागेर विपश्यना गर्न आइपुगेको तिमीलाई यसले धेरै सहयोग गर्नेछ। छोडेर जाने कुरा नगर। बरु,सबै उठेपछि तिमीसँग म छुट्टै बसम्ला है सधैँ।’
उनको यो स्नेह मिसिएको सम्झाइपछि म बस्नुपर्छ भन्नेमा पुगेँ। तर, जब-जब ध्यान गर्न बस्छु,आँखा चिम्लिएर गुरुका निर्देशन सुन्दै जान्छु, उही पुराना कुराहरू आइहाल्छ। तर्कना सम्झना आउनु अभ्यासको स्वभाविक प्रक्रिया हो भन्ने जान्दाजान्दै पनि मलाई यसले अगाडि बढ्नै दिएन। कम हुन्छ कि भन्यो अझै बढी तर्कनाले अभ्यासको अगाडिको चरणलाई छेक्थ्यो।
यति धेरै पीडा सम्झिएर दिनरात बिताउनुभन्दा, आमाको यादमा यसरी छटपटिनुभन्दा बरु यो प्रक्रियाबाट बाहिरिनु नै सुखद हुन्छ भन्ने ठानेर म फेरि तेस्रो दिन आचार्यसामु गएको थिएँ।
मलाई सुनेपछि आचार्यले उही शान्त भावमा बोले, ‘तिमी अरू कसैसँग बोल्न नपाएर यस्तो लागेको हो। यहाँ ध्यान गरिरहेका अरूहरूलाई पनि ठ्याक्कै तिमीजस्तै भएको छ। विदेशबाट विपश्यना नै गर्छु भनी एक मात्र सपना बोकेर आएकाहरू पनि अहिले तड्पिरहेका छन्। तिमी त झन् केही किलोमिटर परबाट आएका। आजसम्मका यी तीन दिन एउटा मात्र अभ्यासको तरिका गरेका थियौ। भोलि विपश्यना दिन हो। भोलिबाट नयाँ तरिका थपिन्छ। यदि तिमीलाई भोलि पनि असजिलो भयो, बस्दै बस्दिन भन्ने भाव आइरह्यो भनेचाहिँ म कर गर्दिनँ। भोलि एक दिन हेर न है।’
चौथो दिनको परिवर्तन
मनले नमाने पनि आचार्यले त्यति भनिसकेपछि म चौथो दिनमा गरिने विपश्यनाको पर्खाइमा बसेँ। तीन दिनसम्म आफ्नो नाकको वरिपरि हेरेर स्वासप्रस्वाशलाई नियाल्ने निर्देशन सुनेर वाक्क भएको म चौथो दिनमा सक्दो मनलाई एकत्रित गर्नेछु भनेर पूर्वतयारी गरेँ। केही समयको आनापाना गरेपछि लगातार दुई घण्टा विपश्यना गरिने हुँदा त्यो समयमा कोही बाहिर निस्कन नपाइने र दिइएका निर्देशनलाई ध्यानपूर्वक सुनी त्यही अनुसार गर्नुपर्ने पूर्वजानकारी गराइयो।
यही दिनको पर्खाइमा बसेको मैले पनि ध्यानपूर्वक अभ्यास गर्ने प्रयत्न जारी राखेँ। नभन्दै, चौथो दिनको विपश्यनामा मलाई नयाँ अनुभव भयो। लगातार दुई घण्टाको ध्यानका दौरान मैले गुरुले भनेअनुसार सिरदेखि पाउसम्म आफ्नो ध्यान केन्द्रित गर्न सके। मनमा अनेकौँ तर्कना आएतापनि ध्यानमा आफूलाई सम्हाल्न प्रयत्न गरिरहेँ। यसपछि मलाई विपश्यनामा रहर जाग्यो। अनि बाँकी रहेका दिनलाई सक्दो सदुपयोग गर्ने सोचमा पुगेँ।
सँगै विपश्यना गर्न आएका ३० भन्दा बढी साथीहरू भएतापनि कसैसँग बोल्न नपाइने हुँदा विपश्यनाका दौरान भएका अनुभव आदानप्रदान गर्न सम्भव भएन। सीमित समयका लागि भएतापनि बोल्न लेख्न दिएहुन्थो भन्ने मेरो अभिप्राय सुनेपछि दोस्रो दिनमा आचार्यले भनेका थिए, ‘विपश्यना आर्य मौन नियमलाई किन कडाइसाथ पालना गरिएको भन्ने कुरा यो सेसनको अन्त्यमा थाहा हुनेछ।’
नभन्दै सेसन सकिएपछि लाग्यो, आफ्नो स्वाभाविक स्वासप्रश्वासलाई हेर्ने यो साधनाका दौरान अरूका अनुभव सुन्ने, अन्य कुरा पढ्ने भनेको आधारभूत सिद्धान्तबाट विचलित हुनु रहेछ जसले न्यून प्रतिफल दिने रहेछ। सुरुमा बोल्न लेख्न पाए हुन्थ्यो भनी ठान्ने हर कोही यो निष्कर्षसँग सहमत भएको पाएँ।
विपश्यनाका दौरान म घरपरिवारको सम्झनाले सताउँदा मसँगै आएका अरूको अनुहारतिर नजर लगाउँथेँ। अनि सोच्थेँ, उनीहरु यति आनन्दले बसेका छन् भने मैले मात्र किन चिन्ता लिनु। मेरो परिवारलाई मात्र समस्या पर्दैन होला। तर अर्को तर्क आइहाल्थ्यो, यदि घरमा आमा सिकिस्त बिरामी भएर मलाई खोजिरहनुभएको छ कि? मलाई खोज्दै कतै यहीँसम्म पो आइपुग्नु भयो कि?
विपश्यनाका अन्य कयौँ सान्दर्भिक व्यवहारिक पाटो छन् । विपश्यना अवधिभर हरेक साधकले आफ्नै निश्चित ठाउँमा बसेर खाने अनि खाइसकेपछि आफ्नो भाडा माझेर त्यही ठाउँमा राख्ने नियमले कामको वैज्ञानिक विभाजन गरेझैँ लाग्यो । यस्ता व्यक्तिगत काम छोराबुहारीले गरिहाल्छन् भनेर सोच्नेहरू सेसन सकिएपछिका दिनमा आफैँ गर्छु भन्ने प्रण लिएका मैले पाएँ।
आफैलाई चिन्ने प्रयास
बाहिरी भौतिक दुनियाँसँग सम्पर्क विच्छेद भएपछि मानिसले आफूलाई चिन्ने प्रयत्न गर्ने रहेछ। आफ्नो अघिपछि देखिने साना चिजको पनि महत्त्व देख्ने रहेछ। विपश्यना अवधिमा मैले रुखसँग सङ्गत गरेँ। बाटोमा भेटिने किरालाई सुरक्षित राख्न प्रयत्न गरेँ। चराका आवाजमा ध्यान दिएँ। सामाजिक सञ्जाल र समाजबाहेक पनि अर्को दुनियाँ छ भन्ने कुरालाई महसुस गर्न सकेँ।
मेरो रुम मेट रहेका सत्तरी वर्षका हजुरबुबाले बिदा हुने दिन भने, ‘बाबु,मेरो यो दोस्रो पटक हो। पहिला दुई दिन त सारै गाह्रो भएको थियो। बोल्न पाए पो भन्नू। तर, अहिले आनन्द लागेको छ। बाँचियो भने फेरि आउने हो।’
उनको कुरा सुनेपछि सुरुवाती दिनमा भागेर जान मैले गरेका अनेकौँ असफल प्रयत्न सम्झिएँ।
विपश्यनामा पञ्चशील लगायत नियमहरुको निगरानी गर्ने मानिसहरू हुन्नन्। एकाध रहेका स्वयंसेवकले आफ्नै आँखा अगाडि केही देखे सचेत मात्र गर्छन्। तर, विपश्यना संसारमा मैले देखेका–सुनेका–भोगेका मध्येको कठोर आत्मअनुसाशन हो झैँ लाग्छ। विपश्यनाका नियमबारे पूर्वजानकारी लिएरै जाने हुँदा सबै यसको उपयोग गर्न नै चाहन्छन्। तर,नियमहरू पढ्नु र प्रत्यक्ष आफैँमा लागू गर्ने बीचमा रहेका अन्तर नजानेले सायदै बुझ्छन्।
कोरोनाको फैलावटको सुरुआतमा विपश्यना गएको म फर्केर आउँदा देश लकडाउनमा गइसकेको थियो। बाहिर यत्रो हल्लीखल्ली हुँदा पनि बाहिरी संसारबारे केही बसेकाहरू बेखबर रहनुले पनि त्यहाँ भित्रको वातावरणलाई बताउँछ।
बिहान साढे ६ बजेको खाजा, एघार बजेको खाना अनि साँझ ५ बजे दिइने चिया र बिहान ४ बजेदेखि राती साढे ९ बजेसम्मको दैनिक तालिका विपश्यनाको नियम हो र सबै ठाउँमा यही रुटिन अनुसार हुन्छ।
विपश्यनामा बसेको, खाएको शुल्क लाग्दैन। आफ्नै विवेकले चाहे जति आफूलाई इच्छा लागे अनुसार दिन सकिन्छ। यो पनि अर्को राम्रो पक्ष हो। धर्म र ध्यानका नाममा साधकबाट चर्को पैसा उठाउने आजभोलिका विभिन्न ‘व्यापारी’हरु भन्दा पृथक शैलि अपनाउनू आफैँमा प्रशंसायोग्य छ।
विपश्यनाबाट फर्केपछि म आफैँमा कति परिवर्तन भए ठ्याक्कै जवाफ छैन। तर,कतिपय परिवर्तन दैनिक जीवनमा अनुभूत अवश्य गरेको छु। हरेक संवेदनाप्रति राग वा आशक्ति नजगाई सम भावले देख्नुपर्छ भन्ने गुरुको निर्देशनलाई पालना गर्ने कोसिस गरिरहन्छु।
लकडाउनको बेला घरमै ध्यान गरिरहेको मलाई देखेपछि आमाले एकोहोरो भएर बोल्नुभयो, ‘बाबु, सुखदु:ख गरेर यहाँसम्म पढाइयो। घरमा पढेको भन्नू नै तैँ होस्। पढाइ सकिने बित्तिकै यसरी हिँडेपछी मलाई त जोगी पो बन्ने भइस् भन्ने चिन्ताले कम्ति सताएन। बाबु,बाटो नबिगार है।’
प्रश्न आइहाल्यो, आमाको यो मायाले मलाई फैलन सहयोग गर्ला कि खुम्चिन बाध्य पार्ला ?
ध्यान, योगलाई पनि मानव जीवनका अभिन्न पाटो भएकाले यतातिर झुकाव राख्ने बित्तिकै ‘जोगी’ भयो भन्ने सोचाइमा परिवर्तन आउला? (विपास्यनाबाट फर्केपछी सुदन अधिकारीको सोचमा आधारित लेख)



Post a Comment