फापर रोटीले बर्गरलाइ बिस्थापित गर्ने दिन फेरि आउला?

राशि पौडेल

 समयसँगै हामी नेपालीहरूको दैनिकी र रोजगारमा परिवर्तन आएको छ । खेती किसानी गरेर जीविकोपार्जन गरेका हाम्रा पुर्खाभन्दा फरक हाम्रो कर्मथलो ठूलाठूला खेत र बारीबाट साँघुरिँदै एउटा कार्यालय कोठाको सानो टेबुल र कुर्चिमा खुम्चिन पुगेको छ ।

कार्यक्षेत्र प्रकृतिबाट टाढा गएजस्तै हाम्रो आहार पनि खुम्चिएको छ। हाम्रो रोजाईबाट मकैको रोटीलाई म्याक्रोनी, दही-मोही लाई कोल्ड्रड्रिंक्स , बगियालाई म:म आदिले लगभग विस्थापित नै गरिसकेको छन् , शहर बजारमा हरेक होटल खाजाघरकाे पकवान उही मम, चाउमिन, पिजा र बर्गर देखिन्छन्  जुन स्वास्थको लागी हितकारी छैन ।

 के यो सब खाना हाम्रो पहिलो रोजाइ नै भएर यति सम्म व्यापकता प्राप्त गरेको हो त? 

यही विषयमा विभिन्न पेशामा रहेका साथीहरुसंग बुझ्नेक्रममा एकजना सफ्टवेयर डिजाइनर मित्रसँग कुरा गरें । आफ्नो कार्यालय नजिक रहेको होटलमा त्यही खाजा पाउने भएकोले खाने गरेको उनले बताए। अन्य नेपाली खाजाहरु पाउन पनि सहज नहुने र यदाकदा पाएर अनलाइन मगाउँदा धेरै महंगो पर्ने त्यसैले बाध्यताले पनि त्यही फास्टफुड किनेर खाने गरेको उनले बताए। आफूलाई त्यस्ता फास्टफुडले गराउने नोक्सानीको हेक्का रहेको     अनुभब पनि उनले सुनाए । 

उनीजस्तै अर्का एक चिकित्सक मित्रले पनि फास्टफुड बाट पीडित भएको बताए ।   "मलाई त यो म:म काे डल्लो "टेराटोमा" जस्तो लाग्छ । भित्र के के छ के के " । 

हाँस्दै उनले आफ्नो अगाडि रहेको खानालाई एक किसिमको "क्यान्सर" रोगसँग तुलना गरे र कप्लक्क मुखमा हालेर चपाउँदै त्यसले गर्ने हानीको बारेमा राम्रै लेक्चर दिए र  एक घुट्की कोल्डड्रिंक्स पिएर स्वाट्ट बगाए । 

 हुन त फास्टफुडबाट पीडित यो पंक्तिकार स्वयं  पनि हो । बाल्यकालमा पंक्तिकारलाई घरको चनाकाे तरकारी र फापरको रोटी टिफिनमा बोकेर स्कूल जान लाज लाग्थ्यो।  उपहार कुपन पर्ने सुख्खा चाउचाउ उसको पहिलो रोजाइमा पर्थ्यो । दश जोड दुई पढ्ने बेला कलेज क्यान्टिनमा बसेर ससेज र बर्गर चपाउनलाई उसले आकर्षक र आधुनिक मान्थ्यो तर स्नातक पढ्ने बेलासम्म पाइल्स र ग्यास्ट्राइटिस बाट पीडित बनिसकेकाले घरको खाजालाई पनि स्थान दिन पर्ने चेतनाको प्रस्फुटन उसमा भइसकेको थियो । 

 सायद पहिले अपहेलित फापरको रोटीको आँसु लागेकोले हुनपर्छ, कलेजको छात्रावासमा उसले त्यही  फापरको रोटी सम्झिदै नुनचर्को चाउमिन, उसिनेको मैदा खान पर्यो । 

अन्ततः बाउन्न घुस्सा त्रिपन्न ठक्कर खाएपछि उसले घरको खाजाको महत्त्व बुझेको छ र फापरकाे रोटीको गुमेको स्थान फर्काउन लालायित देखिन्छ ।


हाम्रो होटल , कार्यालय काे खाजाघर र छात्रवासहरुमा अतिक्रमण गरेर बसेको फास्टफुड र पेय पदार्थलाई स्थानान्तरण गरेर फापर- मकैको रोटी, मोही र बगियाजस्ता स्वदेशी पकवानलाई स्थापित गराउन हामी सबैले सोच, व्यवहार र आहरमा परिवर्तन ल्याउन जरुरी छ । 

अन्तमा, जय फापरको रोटी !

0/प्रतिक्रिया