लुत्तो: बाल्यकालीन सम्झना र बैज्ञानिक उपचार बिधि

लेखक-डा सुदिप पौडेल 

 


लुत्तो एक प्रकारको चर्मरोग हो । नेपालका विभिन्न  समुदायमा ‘लुतो फाल्ने’ चलन अहिलेसम्म पनि चलिआएको छ । प्रत्येक वर्ष साउने संक्रान्तिको साँझ यस्तो चलन खासगरी ग्रामीण पहाडी भेगमा अहिलेसम्म पनि हर्षउल्लासका साथ मनाइन्छ । चलिआएको प्रचलन अनुसार केटाकेटीलाई दुःख दिने, रातमा हिंड्ने कण्डारक नामको राक्षसलाई मन्सिएर भगाउन बलिरहेको अगुल्टो घरको चारैतिर ‘लुतो लैजा’ भनेर कराउँदै फालिन्थ्यो । त्यही परम्परा लुतो फाल्ने चलनका रूपमा कायम छ । लुतो फाल्न वा राक्षसको पूजा गर्न भलायोका पात, तिउरी, पानीसरो, देवीसरो, कुकुरडाइनुको लहरो, धसिङ्गरेका बोट, उन्यू जातको नागबेली, कुरिलो, सिउँडी, सिस्नु, जरै सहितको पानीअमला लगायतका विविध वनस्पति चाहिने हुन्छ |

पहिले पहिले पहाडतिर लुत्तो फाल्ने कामलाई उत्सवकै रूपमा मनाइन्थ्यो । आफुले देख्दै र  भोग्दै आएको पनि हो। सामान्यतया असारमा रोपाइँ सकिने, रोपाइँ गर्दा हिलो र धमिलो पानीका कारण छालाको रोग लाग्न सक्ने भएकोले पनि साउने संक्रान्तिमा लुतो फाल्ने चलन बसेको बूढापाकाको भनाइ छ ।
मलाइ अझैसम्म पनि सम्झना छ-हामीपनि लुत्तो फाल्थ्यौं । हाम्रो गाउँ बाग्लुङ जिल्ला साबिकको बाग्लुङ नगरपालिका ४ रातमाटामा हो । हाम्रो घर माथि एउटा  पाखो थियो । त्यहाँ लुतो फाल्न चाहिने सबै वनस्पति पाइन्थे । साउने संक्रान्तिका दिन म लगाएत गाउँका हामी ८/१० जना किशोरहरू(सन्जय, वसन्त, मनोज,शिशिर ,सन्देश,जनक, सुन्दर ,उत्तम , सुबिन, सुमित, अनि अरु साथीभाइ हरु) ती सामग्री लिन डाँडामा उक्लिन्थ्यौं ।
आवश्यक थरीथरीका वनस्पति उखेलेर स–साना बिटा बनाएर घरतिर बुर्कुसी मार्दै दौडिन्थ्यौं । कहिले चिप्लिएर लड्थ्यौं । पानी पर्दा भिजिन्थ्यो । जे–जस्तो असुविधा भए पनि कराउँदै र रमाउँदै दौडिन्थ्यौं । त्यो उमेरमा त्यही रमाइलो, त्यही नै जीवन ।
अहिले सोच्दा लाग्छ, लुत्तो फाल्ने परम्परा त जैविक विविधतासँग पनि जोडिएको रहेछ । लुतो फाल्नकै लागि धसिङ्गरे, पानीसरो, देवीसरो, कुकुरडाइनु, पानीअमला,कुरिलो, उन्यू जातको नागबेली, भलायो जस्ता वनस्पति जोगिने रहेछन् । माथी उल्लेखित सामान जम्मा गर्दा गर्दै झमक्क रात पर्थ्यो अनि दियो मा बत्ती  बालेर पुजा गरेपछि लुतो फाल्ने कामको आरम्भ हुन्थो।
पहिले नाङ्ग्लो वा थाल ठटाउने अनि लुत्तो आयो भन्दै कराउने। त्यस पछि कुरिल्लो सल्काउने अनी दाउरहरु सल्केपछी "ल है लुत्त्तो आयो"भन्दै १-१ गर्दै अगुल्टो  फाल्ने, अगुल्टो फाल्ने चाइ मानौं प्रतियोगिता नै हुन्थ्यो  । कसले टाढा फाल्ने भनेर ।
"ए जिम्मलथर गाउँ , ए तिनतले गाउँ ,पाखाथर  गाउँ , लुत्त्तो लिन आओ है"  भन्दै कराउनुको मजा छुट्टै! अर्कोतर्फ देखि पनि हामीहरुलाई उस्तै निमन्त्रणा आउथ्यो ।
सायद ती  दिनहरु प्लान गरेरपनि अब फ़र्काउन सकिदैन होला ।
मिठो  सम्झना साउन १ गते - लुत्तो फाल्ने दिन ,तर अब लुतो फाल्ने दिन संस्कृति रुपले संरक्षण गर्दै लुतो सहि उपचार गर्नुपर्नेछ भन्दै यो रोगको बारे मा जानकारी गराउन मन लाग्यो|

लुत्तो के हो?
लुत्तो एउटा छालाको रोग हो  जसले तपाईंको छाला चिलाउने  हुन्छ ।  यो एक किसिमको सुक्ष्म किरा (mites-sarcoptes scabiei var hominis)को कारणबाट हुन्छ जसले तपाइको छालामा घुसेर अण्डा (फुल) पार्दछन। 


यो रोग कसरी लाग्छ?
यो रोगसंगै बस्ने  वा शरीरको हिमचिमद्वारा एक व्यक्तिबाट अर्कोमा  सजिलै सर्दछ। लुत्तो लागेका व्यक्तिको लत्ताकपडाको माध्यमदेखि पनि यो रोग एकअर्कोमा सजिलै सर्दछ।  यसको समस्या विश्वका सबैजसो गर्मी ठाउँहरुमा देखिएको छ । परिवारमा एकजना लाई यो रोग भयो र समय मै उपचार गरिएन भने परिवारका सबै सदस्य लाई यो रोग सर्दछ|

यो रोगका लक्षण के के हुन्छन?
यो रोगका मुख्य लक्षण भनेको मुख्यतया रातीमा शरीर चिलाउने   हो ।संगसंगै लुत्तो लागेका प्राय व्यक्तिको शरीरमा  सानासाना राता घाउ /डाबर हरु देखा पर्छन।  कहिले काही यस्तो घाउँ /डाबर नदेखिन पनि सक्छन।  कुनै कुनै  व्यक्तिमा भने लुतो का सुक्ष्म किराहरु लुकेर बसेका प्वाल/छिद्रहरु नै छालामा देख्न सकिन्छ।  यस किराले राति धेरै रगत चुस्ने हुनाले रातमा बढ्ता कन्याउनुपर्ने हुन्छ। निद्रा वा अर्धनिद्रामा बढ्ता कन्याउँदा छाला खुइलिने, रातो हुने र बिमिरा उठ्ने हुन्छ। कन्याउने नङ फोहोर रहेछ भने त्यसबाट अन्य ब्याक्टेरियाको कारण अन्यभागमा संक्रमण फैलिन सक्छ |


लुत्तो आउनुको कारण ?
लुत्तो आउनुको मूल कारण व्यक्तिगत सरसफाईको कमी नै हो। तुलनात्मक रूपमा कम सरसफाई हुने भएकोल यो जीवाणुले वयस्क भन्दा बालबालिकालाई बढ्ता आक्रमण गर्छ । तर, ननुहाउने, समय समयमा लुगा नफेर्ने, फोहोर बिछ्यौनामा सुत्नेहरूलाई यो रोग बढ्ता लाग्छ।

लुत्तोले धेरै प्रभावित हुने अंगहरु कुन हुन् ?
"सार्कोप्टिस स्क्याबीज" जीवाणु मानव शरीरका न्यानो भाग– जस्तै,
•औलाहरु तथा औलाका काप हरु (The fingers and webbing between the fingers)
•नाडीको वरिपरिको छाला, कुहिना र घुडा ओरिपरि (The skin folds around the wrists, elbows, and knees)
•काखी (The armpits)
•दुध को मुन्टो ओरिपरिको भाग (The area around the nipples (especially in women))
•कम्मर /पुठ्ठा को भाग (The waist)
•पुरुषमा लिङ्ग तथा अण्डाथैली को क्षेत्र (The penis and scrotum (in men))
•नितम्बको तल्लो भाग तथा जंघा /तिघ्रा को माथिल्लो भागमा (The lower buttocks and upper thighs)
•खुट्टाको छेउ तथा पैतालातिरको भाग (The sides and bottoms of the feet) लगायतमा पाइन्छ।

लुत्तोकसरि उपचार गरिन्छ ?
छालामा लुत्तो देखापर्नासाथ समयमै उपचार गर्नुपर्छ । बेलैमा उपचार नभए शरीरका सबै भागमा फैलिन सक्छ । सुरुमा स–साना घमौरा जस्ता मसिना राता बिबिरा देखिन्छन् । बेस्सरी कन्याउँदा लुतोले घाउको रूप लिन्छ । घाउ ठूलो भएपछि निको हुनगाह्रो हुन्छ । घाउ पाकेमा पिप जम्ने गर्छ । वेलैमा उपचार नगरे अरुलाई पनि सर्नसक्छ । त्यहि कारण तपाईंले माथी उल्लेखित लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वस्थ्यकेन्द्रमा गएर, डाक्टरलाई आफ्नो समस्या जानकारी गराए तपाइँलाई यो रोगको उपचार सुरु हुन्छ  । जसमा लुतोको किरा मार्ने औषधि लेखिएको हुनेछ। 
साधारणतया यसको लागि "permethrin" भन्ने औषधि दिईन्छ।  यो एउटा क्रिम अथवा लोसन (cream or lotion) को रुपमा पाइन्छ र तपाईंले  आफ्नो घाटी भन्दा तल शरीरका सबै भागमा  लगाउनु पर्ने हुन्छ,सङ्सङै "सल्फर, बेन्जोएल बेन्जोएट गामा बेञ्जिन हेक्जाक्लोराइड,क्रोटामिटोन" लगाएतका औसधि मार्फत पनि उपचार गरिन्छ|
यो औषधि लगाउँदा तपाइको डाक्टरले भनेजस्तै ठ्याक्कै दुरुस्तै लगाउनुपर्छ अन्यथा यसले काम गर्दैन। 

कसरी  लगाउने ?
यदि तपाईंको लुत्तोको उपचार हुदैछ भने तपाइको डाक्टरले तपाइलाई मात्र नभएर तपाइँसंग (घरमा) बस्ने अरुलाई पनि उपचार चाहिने सल्लाह दिनेछन।  लक्षण नदेखिएको भए पनि उनीहरुलाई पनि लुतो को किराले आक्रमण गरिरहेको हुन सक्छ।

उपचार गर्दाखेरी तपाईंलाइ दिइएको क्रिम औषधि घाँटी देखि तल शरीरको सम्पूर्ण भागमा सबै लुगा खोलेर मजासँग लगाउनुपर्ने हुन्छ। राती सुत्नुपुर्ब क्रीम लगाउने,  त्यसपछि कम्तिमा आठ घण्टा पछि (भोलिपल्ट बिहान उठेर) राम्रोसंग नुहाउने र नया लुगा लगाउने।  अनि पहिलेको सबै लुगा धोएर कडा घाममा राम्रोसंग सुकाउने। सबै  लुगा भन्नाले तपाइँ तथा तपाइको घरमा/परिवारमा बस्ने सबैले गएको ४-५ दिनमा लगाएको लुगा तथा सम्पूर्ण तन्नाहरु/कम्बलहरु तौलियाहरु धुनु आवश्यक हुन्छ। 

के लुत्तोको लागि खाने औषधि उपलब्ध छैन ?
लुतो मार्ने औषधि को खाने चक्की पनि पाइन्छ (ivermectin) तर यो त्यसै किन्न पाइदैन यसका लागि तपाइलाई डाक्टरले डोज हिसाब गरेको प्रेसक्रिप्सन आवश्यक हुन्छ।  गर्भवती भएको बेलामा यो चक्की खान हुदैन।

चिलाउने समस्या कम गर्न म के गर्न सक्छु?
तपाइँले यसको लागि antihistamine समहको औषधि लिन सक्नुहुन्छ।

लुत्तोबाट बच्न के कस्ता उपायहरू अपनाउनु पर्दछ?
•लुतो लागेका मानिससँग लसपस नगर्ने
•रोगीलाई छुट्टै ओछ्यानमा सुताउने
•लुतो लागेको मानिसले प्रयोग गरेको कपडा अरुले प्रयोग नगर्ने
•व्यक्तिगत सरसफाईमा ध्यान दिने
•रोगीको उपचार गर्ने
•लुतोका रोगीको संसर्गमा आएका तथा सबैको एक साथ उपचार गर्ने!
मैले आफ्नो बाल्यकालिन अनुभव संगै लुत्तोको आधुनिक उपचारबिधी पनि बताएँ!
केही अनुभव तपाइँका पनि छन् भने सेयर गर्न न है!
लुतो फाल्ने दिनको सुभकामना!

0/प्रतिक्रिया