सरकारले ल्याएको ‘राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान’ स्थापना गर्ने नीति बमोजिम प्रतिस्ठान भरतपुरमा हुनुपर्ने मागमा आफू सकारात्मक रहेको स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठले बताएका छन्।
वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल र चितवनका जनप्रतिनिधिको टोलीले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले यसो बताएका हुन् ।
मन्त्रीसंग सोहार्दपुर्ण कुराकानी भएको र आफ्नो मागका सन्दर्भमा मन्त्री सकारात्मक रहेको हुँदा छिट्टै नतिजा देखिने मन्त्रीसंगको भेटमा सहभागी भरतपुर क्यान्सर अस्पतालका निर्देशक डा देज कुमार गौतमले बताए ।
वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको इतिहास, साधन स्रोत, उपलब्ध जनशक्ति, जग्गाको उपलब्धता लगायतको विषय प्रष्ट पारेर बुझाईएको ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले "भरतपुर लेख्नुपर्नेमा भुलवश भक्तपुर लेखिन पो गयो कि" भन्ने शंका व्यक्त गरे।ज्ञापनपत्रमा भरतपुर सबै किसिमले केन्द्र भागमा रहेको र अस्पतालको ऐनमा अध्ययन, अनुसन्धान र उपचारलाई अघि बढाउने उल्लेख रहेको जनाईएको छ ।
यसपालिको बजेटले क्यान्सर अध्ययन संस्थानको निर्माण अघि बढाउने भन्दै भक्तपुरमा प्रतिस्ठान बनाउने निर्णय अघि बढाएको छ। भक्तपुर क्यान्सर अस्पताल, वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल र सुशील कोइराला क्यान्सर अस्पताललाई यस अध्ययनन संस्थान मातहत सञ्चालन गर्ने घोषणा गरेको छ । ५०० बेड क्षमता भएको देशकै एकमात्र स्वायत्त क्यान्सर अस्पतालमा "अध्ययन संस्थान" खोल्न सके क्यान्सर अनुसन्धान तथा उपचारमा अझ सहज हुने यहाँ कार्यरत डाक्टरहरुको भनाइ छ। संगै ,यो प्रतिस्ठान अन्त खोलेर बिपि कोइराला क्यान्सर अस्पताललाई त्यस मातहत राख्दा यसको स्वायत्तता गुम्नसक्ने चिन्ता पनि प्रकट भइरहेको छ ।
टोलीमा क्यान्सर अस्पताल सञ्चालक समितिका अध्यक्ष डा.निर्मल लामिछाने, एमाले नेताहरु काशीनाथ अधिकारी, कृष्णभक्त पोखरेल, पार्वती रावल, अस्पतालका निर्देशक डा.देजकुमार गौतम, उपनिर्देशक डा.कृष्णसागर शर्मा, सञ्चालक सदस्य, डा. कैलाश भण्डारी सहभागी थिए।



Post a Comment